काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । समसामयिक राजनीति र मन्त्रिपरिषद बिस्तारबारे प्रचण्डले देउवालाई बालुटारमै पुगेर भेटेका हुन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समसामयिक राजनीतिबारे छलफल भएको जानकारी दिए । देउवालाई भेटेपछि प्रचण्ड सोझै पार्टी कार्यालय पेरिसडाँडा गएका छन् । पार्टीको स्थायी कमिटी बैठकका लागि प्रचण्ड पेरिसडाँडा पुगेका हुन् । अहिले स्थायी कमिटीको बैठक बसिरहेका छ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठक बसिरहेको बताए ।
माओवादीको स्थायी कमिटीको बैठकमा सरकारमा सहभागी हुने नेताहरुबारे टुंगो लाग्नसक्छ । सरकारमा सहभागी हुने नेताहरुबारे माओवादीभित्र लगातार छलफल हुँदै आएको भए पनि आकांक्षी धेरै भएपछि टुंगो लागेको छैन् ।
हालसम्म माओवादी केन्द्रका तर्फबाट सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल सहभागी छन् । माओवादीले स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्नेबारे पनि छलफल गरिरहेको छ ।
सरकार तीन महिना पूरा हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण आकार लिन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको भागमा नै १६ वटा मन्त्रालय रहेको छ अहिले पनि । त्यसैलाई लिएर सरकारको आलोचना हुँदै आएको छ ।
विशेषगरी गठबन्धनमा रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पुनः फुट्ने जोखिम रहेको भन्दै राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको विषयले गर्दा मन्त्रिपरिषद विस्तार रोकिएको थियो । त्यसैलाई सम्बोधन गर्न सरकारले अध्यादेश खारेज गर्ने सिफारिस गरेको थियो जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै स्वीकृत गरेकी थिइन् ।
त्यसपछि सरकार विस्तारका लागि बाटो खुलेको भए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीमात्र होइन नेकपा (माओवादी केन्द्र)ले पनि मन्त्रीको सिफारिस गर्न सकेको छैन ।