भोजपुर, १८ साउनः टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारे बजार पहिरोको उच्च जोखिममा परेको छ । बजारमाथिको डाँडामा जमिन चिरा परेर निरन्तर पहिरो जान थालेपछि बस्ती खतरामा परेको हो ।
वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार पहिरोको मुख्य कारण स्थानीय डाँडामा भइरहेको ढुङ्गा उत्खनन हो । “पाँचधारे बजार पहिरोको जोखिममा परेको छ,” उनेले बताएका छन, “अहिले पनि पहिरो जारी छ, ठूलो वर्षा भएमा बस्ती नै बग्न सक्ने अवस्था छ ।”
बजार क्षेत्रका आठवटा घर प्रत्यक्ष जोखिममा परेका छन् । वडाध्यक्ष माङ्गपाहाङ्गले पहिरोसम्बन्धी विवरण प्रहरी मुचुल्कासहित सम्बन्धित सरकारी निकायमा पठाएको तर हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे ।
हाल पनि चर्किएको जमिनबाट सामान्य पहिरो जान थालेको र तत्काल रोकथाम नभएमा ठूलो क्षति हुने चेतावनी उनले दिएका छन । अहिले स्थानीयवासीहरु डरको वातावरणमा बाँच्न बाध्य भएका छन् ।