काठमाडौँ, २० साउन – सङ्घीय निजामती सेवा विधेयक, २०८० मा उल्लेख भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिनिधिसभाले गठन गरेको उक्त समितिले आजको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको हो ।
समिति सदस्य माधव सापकोटाका अनुसार सिंहदरबारमा रातभर बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । समितिले २९ दिनको अवधिमा ३७ वटा बैठक बसी प्रतिवेदन तयार गरेको हो । त्रुटिहरू कसरी भए र भविष्यमा दोहोरिन नदिन के गर्न सकिन्छ भन्नेबारेमा विशेषज्ञहरूसँग परामर्श गरेर प्रतिवेदन तयार गरिएको जनाइएको छ ।
प्रतिवेदन तयार गर्ने क्रममा विधेयक निर्माण प्रक्रियामा हुने त्रुटि सच्याउने, कमजोरी हटाउने र यस्ता विवाद पुनः नदोहोऱिने उपायमा सरोकारवाला पक्षसँग विभिन्न कोणबाट छलफल गरिएको थियो ।
गत असार २३ गते प्रतिनिधिसभाले उच्चस्तरीय विशेष छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।