काठमाडौँ, २० साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ता दिने व्यवस्था लागू गरिएको घोषणा गरेका छन । साथै, खेलकुदका क्रममा हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीका लागि दुर्घटना बिमा सुरु गरिएको जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले आर्थिक वर्ष २०८२।८३ देखि खेलाडी तथा प्रशिक्षकका लागि जीवन र स्वास्थ्य बिमा योजना ल्याउने तयारी भइरहेको बताए । उनका अनुसार अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी र उनका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति दिने योजना समेत रहेको छ ।
खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिता, प्रशिक्षण कार्यक्रम, र ग्रामीण तहसम्म खेल विकासका प्रयास भइरहेको बताएका छन ।
युवा क्षेत्रमा पनि नयाँ राष्ट्रिय युवा नीति –२०८२ अन्तिम स्वीकृतिको चरणमा रहेको जानकारी दिँदै उनले सीपमेला, रोजगारमूलक तालिम, ब्याज अनुदान सहित स्वरोजगार कार्यक्रम, तथा सामाजिक जागरण अभियान सञ्चालन गर्ने योजना समेत सुनाए ।
राष्ट्रिय खेलकुद परिषद्बाट खेल वर्गीकरण, पूर्वाधार हस्तान्तरण, कर्मचारी समायोजन लगायतका विषय समेटिएको नयाँ विधेयक तयारीमा रहेको उल्लेख गर्दै उनले स्काउटका लागि नयाँ ऐन तर्जुमा पनि अघि बढाइएको जानकारी दिए ।
मन्त्री चौधरीले तीनै तहबीच समन्वय र सहकार्यमा आधारित योजनाहरू कार्यान्वयन हुँदै गइरहेको स्पष्ट पारेका छन ।