मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार


  • 3.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3966
    फागुन १६, २०७८ सोमबार
    युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार

    काठमाडाैं । युक्रेनबाट २ सय ४४ जना नेपालीहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रूस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानाकारी दिएकाे हाे । समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना,  माल्डावामा २ जना  सकुशल पुगेका छन् ।

    यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना,  स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माेल्डावाको सीमामा २ जना नेपालीहरू रोकिएका छन्। उनीहरू सोमवार साँझसम्म सिमा पार गर्ने अनुमान गरिएको छ ।

    गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरू पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन् ।

    रूस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष  तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

    बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरूलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए । उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरूको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफैं परिचालित भएकाे जानकारी दिए ।

    गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र केही खुकुलो भएकाे बताए । स्वास्थ्य समितिका संयोजक डा.बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर  ११ जना नेपालीहरूलाई उद्धार गरेर  सुरक्षित स्थानमा पुराएको जानकारी दिए ।

    उनले सीमा क्षेत्रमा महिला र बच्चाहरूलाई पुरूषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरूको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा  परेका ८ जना नेपालीहरूलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा पु-याउन सकृय रूपमा लागि परेको उनले बताए ।

    रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरू सुरक्षित रूपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरू रोमानियाबाट हङगेरी गैरकानुनी रूपमा छिर्न खोजेको बताए ।

    उच्चस्तरीय समितिले  सीमा क्षेत्रमा  थप स्वयंसेवक परिचालन गर्ने,  नेपाल फर्किन चाहनेहरूको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रूपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरूको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ ।   

  • सम्बन्धित विषय:

  • # युक्रेन
  • # नेपाली
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij