उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ ।
द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो ।
सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो ।
उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको हो ।
लामो दूरीमा मार हान्न सक्ने आईसीबीएम अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको हतियार हो ।
आईसीबीएम परीक्षणमा प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले त्यसलाई पालना गरेको छैन ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ–उनको निर्देशनमा बिहीबार परीक्षण भएको हो ।
मिसाइल एक घण्टाभन्दा लामो समय उडेपछि जापानको समुद्री क्षेत्रमा खसेको जापान सैन्य अधिकारी तथा दक्षिण कोरियाका अधिकारीले बिहीबार बताएका थिए ।