रुसको रक्षा मन्त्रालयले घेराबन्दीमा रहेको शहर मारिपोलमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न फेरि अल्टिमेटम दिएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार ११ जिएमटी (नेपाली समय अनुसार बेलुका पौने पाँच) सम्म युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पणका लागि रुसले समय दिएको हो ।
रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘मानवीय सिद्धान्तका आधारमा रुसी सशस्त्र बल पुनः प्रस्ताव गर्न चाहन्छ कि युक्रेनी राष्ट्रवादी लडाकु र विदेशी लडाकुले बुधबार दिउँसो २ बजे (मस्को समय) सम्ममा हतियार बिसाएर आत्मसमर्पण गर्नु होला ।’
यसअघि मंगलबार पनि रुसले यस्तै प्रस्ताव गरेको थियो । कुनै पनि युक्रेनी सैनिक वा सुरक्षाकर्मीले हतियार बिसाएर आत्मसमर्पण नगरेको रुसी रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
रुसको साथ पाएका लडाकुहरुले मारिपोलको एजोभ्स्ताल स्टिलवर्कमा रहेका युक्रेनी सैनिक र सर्वसाधारणमाथि आक्रमणको प्रयास गरिरहेको उल्लेख छ । त्यहाँ युक्रेनी सुरक्षाकर्मी र स्थानीय बासिन्दाले रुसी सैनिक र रुसको समर्थन पाएका लडाकुलाई रोक्न सफल भएको दाबी छ ।
मारिपोलमा ठूलो संख्या रुसी सैनिक रहे पनि अझैसम्म शहर कब्जा गर्न भने नसकेको मारिपोल नगर परिषदले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै गम्भीर र कठिन रहेको भन्दै दशौँ हजार स्थानीय बासिन्दाको भविष्य अन्यौलमा परेको बताएका छन् ।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । रुसी आक्रमणमा सुरुदेखि नै मारिपोल शहर प्रमुख निशाना बन्दै आएको छ । रुसले गरेको गोलाबारीका कारण मारिपोल शहर अधिकांश रुपमा ध्वस्त भएको छ ।