सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नागरिकता विधेयकले समटेका मुख्य तीन विषय


  • 2.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4510
    साउन ६, २०७९ शुक्रबार
    नागरिकता विधेयकले समटेका मुख्य तीन विषय

    काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट फास्ट ट्रयाकमा पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यत तीनवटा विषयलाई सम्बोधन गर्न खोजेको छ ।  पहिलो- जन्मको आधारमा नागरिकता पाएकाहरूको विषय । २०७२ सालमा संविधान जारी हुनुभन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो ।

    उनीहरूका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् । फास्ट ट्रयाकमा पारित गर्न लागिएको नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेको छ ।

    जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाका लागि राजनीतिक दलहरुका बीचमा समेत कुनै विमति देखापरेको छैन ।

    प्रस्तावित विधेयकअनुसार पारित भएर ऐन बनेपछि ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

    दोस्रो- आमाको नामबाट नागरिकता जारी । नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधानअनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । प्रस्तावित विधेयकले यो विषयलाई सम्बोधन गरेको छ ।

    प्रस्तावित विधेयकअनुसार पारित भएर ऐनका रुपमा लागू भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।

    तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने हुन्छ । बाबुको पहिचान हुन नसकेको भावमा गरेको ‘स्वघोषणा’ गरेर नागरिकता लिँदा झुटो विवरण पेस गरेको पुष्टि भएमा कारबाहीको भागीदार हुनुपर्नेछ ।

    तेस्रो- गैरआवासीय नेपालीलाई नागरिकता । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारा नै गैरआवासीय नेपालीहरुले लगाए । उनीहरुको यही मागलाई सम्बोधन गर्ने विषय प्रस्तावित विधेयकमा छ ।

    प्रस्तावित विधेयकअनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकता जारी हुने विषय प्रस्तावित विधेयकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij