काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वैकल्पिक ऊर्जाको क्षेत्रमा सरकारको ध्यान प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौैंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकको संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सापकोटाले सरकारले वैकल्पिक ऊर्जाको क्षेत्रलाई प्राथमिकता साथ ध्यान नदिएको गुनासो गरे । उनले यस विषयमा संसदमा समेत सक्रियतापूर्वक ध्यानाकर्षण गराउँने प्रतिबद्धता जनाए ।
उनले भने, ‘वैकल्पिक ऊर्जाको क्षेत्रलाई सरकारले जति प्राथमिकता साथ ध्यान दिनुपर्ने, यसलाई मनोबल प्रदान गर्नुपर्ने थियो त्यो पुगेको छैन । त्यसैले तपाईंहरुले राख्नुभएको कुरा सरकारसामु र संसदमा समेत सक्रियता पूर्वक ध्यानाकर्षण गराउने प्रतिबद्धता गर्न चाहन्छु ।’
सांसद सापकोटाले संस्थासँग सम्बन्धित विषयहरू लिखित रुपमा उपलब्ध गराउन आग्रह गर्दै नपुगेका कुराहरुमा छलफल गर्ने र प्राथमिकता साथ कुरा उठाउने बताए ।