काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ । उनकाे निमोनियाका कारण मृत्यु भएको हो ।
वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनकाे दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.विनोद विजुक्छेले जानकारी दिए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।