सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4636
    भदौ ३१, २०८० आइतबार
    बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत
    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ । 
     
    उहाँले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गर्नुभयो । 
     
    काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताउनुभयो । 
     
    निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाउनुभयो । 
     
    उहाँले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेशन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताउनुभयो । निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणका लागि लगानी गर्न आग्रह गर्नुहुँदै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पार्नुभयो । 
     
    मन्त्री बस्नेतले सरकार विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको पछाडि वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्ने स्पष्ट पार्नुभयो । सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्नेतसँग आग्रह गर्नुभएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij