सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अर्थतन्त्र

राष्ट्र बैंकद्वारा बैकहरुलाई उपलब्ध गराइएको नयाँ नोट सर्वसाधारणले नपाउँदा सास्ती


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4715
    कात्तिक २, २०८० बिहीबार
    राष्ट्र बैंकद्वारा बैकहरुलाई उपलब्ध गराइएको नयाँ नोट सर्वसाधारणले नपाउँदा सास्ती


    काठमाडौं । तीनकुनेका घनश्याम अधिकारी बुधबार पुतलीसडकस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा नयाँ नोट साट्न पुगे ।

    घर जाँदा नयाँ नोट लिएर जाने योजना बनाएका उनले त्यहाँ नयाँ नोट साट्न पाएनन् । बैंकका कर्मचारीले पुरानै नोट दिने भनेपछि उनी रित्तो हात फर्किए । 

    त्यसपछि उनी बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगे । त्यहाँ नयाँ नोट साट्नेको अत्यासलाग्दो भिडभाड थियो । तर, नयाँ नोट पाउने आशामा दिउँसो तीन घन्टा लाइन लागे ।

    ‘नयाँ नोट पाउन निकै कठिन भयो, बैंकहरूले पुरानो नोट देखाउँदै नयाँ नोट दिन मानेनन्,’ उनले भने, ‘घरमा लैजानका लागि नयाँ नोट साट्न आएको दिनभरि लाग्यो ।’ 

    दसैँका लागि नयाँ नोट साट्न पुगेका कवीन्द्र तिमल्सिनाले पनि उस्तै सास्ती खेप्नुपर्‍यो । बुधबार बिहान राष्ट्र बैंक पुगेका उनले नयाँ नोट साट्न दिनभर लाइन बस्नुपर्‍यो ।

    ‘बिहान १० बजेदेखि लाइन बस्दा दिउँसो २ बजे टोकन हात पर्‍यो,’ उनले भने, ‘बेलुकीपख मात्रै नयाँ नोट हात पर्‍यो, राष्ट्र बैंकलाई धन्यवाद ।’

    बैंकहरूले नयाँ नोट लुकाएपछि दसैँको वेला सर्वसाधारणलाई नोट साट्न सास्ती हुने गरेको छ । दसैँको वेला टीका लगाउँदा दक्षिणा आदान–प्रदान गर्न नयाँ नोट प्रयोग गर्ने चलन छ ।

    तर, सबैजसो कमर्सियल बैंकहरूले नयाँ नोट साट्न पुगेका सेवाग्राहीलाई रित्तै हात फर्काउने गरेका छन् । कतिपयले नयाँ नोट साट्न गएकालाई पुरानै नोट थमाएरसमेत पठाउने गरेका छन् । 


    तर, नेपाल राष्ट्र बैंकले यति छिटो नयाँ नोटको अभाव हुने अवस्था नभएको बताएको छ । राष्ट्र बैंकले गत वर्षझैँ बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट दिएको छ ।

    यस वर्ष दसैँका लागि १५ अर्ब नयाँ नोट खपत हुने अनुमान राष्ट्र बैंकले गरेको छ । सोहीअनुसार राष्ट्र बैंकले कमर्सियल, विकास बैंक र अन्य वित्तीय संस्थाहरूलाई उपलब्ध गराइरहेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij