सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/4858
    कात्तिक ९, २०८० बिहीबार
    नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

    भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । 

    असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दशैंको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।

    पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो । 

    बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्”, अध्यक्ष मल्लले  भने, “दशैं र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।” 

    विसं. २०७६ मा एउटाबाट शुरू भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा शुरू गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।

    मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । 

    यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ ।

    त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । 

    नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij