सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

खानीमा ३६ जनाको मृत्यु भएपछि कजाकस्तान शोकमा


  • 757
    SHARES
  • https://indrenipost.com/index.php/posts/4921
    कात्तिक १२, २०८० आइतबार
    खानीमा ३६ जनाको मृत्यु भएपछि कजाकस्तान शोकमा
    आर्सेलरमित्तलको एक खानीमा आगो लाग्दा ३६ जनाको मृत्यु भएपछि कजाकस्तानमा आइतबार राष्ट्रव्यापी शोक दिवसको घोषणा गरिएको छ । केही वर्षमा भएको यो सबैभन्दा ठूलो विपत्ति भएको बताइएको छ । 
     
    आपत्कालीन मन्त्रालयले स्थानीय समयअनुसार बिहान ११ बजे भनेको छ, “खानीमा ३६ जनाको शव पाइएको छ र अन्य १० कामदारको अहिले पनि खोजी भइरहेको छ ।”
     
    खानीमा भेन्टिलेसनको कमी र शनिबार भएको विस्फोटको शक्तिका कारण राति हुनुभन्दा अघि नै उद्धारकर्मीहरूले उनीहरूलाई जीवितै पाउने सम्भावना ‘अत्यन्त कम’ रहेको चेतावनी दिएका थिए । विस्फोटको आवाज दुई किलोमिटरसम्म फैलिएको थियो । 
     
    कजाक राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले शनिबार घटनास्थल पुगेर आर्सेलरमित्तलसँगको सहयोग ‘अन्त्य गर्ने’ आदेश दिनुभयो । कारागान्दा खानीमा पीडितहरूका आफन्तसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “आर्सेलरमित्तल सरकारसँग सहयोगका मामिलामा कजाकस्तानको इतिहासमा सबैभन्दा खराब उद्यम हो ।”
     
    प्रधानमन्त्री अलिखान स्माइलोभले भन्नुभयो, “कजाक सरकार र स्टिल कम्पनी आर्सेलरमित्तलले कजाकस्तान गणतन्त्रको पक्षमा कम्पनीको स्वामित्व हस्तान्तरण गर्नका लागि एउटा प्रारम्भिक सम्झौताको घोषणा गरेका छन् ।”
     
    आर्सेलरमित्तलले भनेको छ, “दुई पक्षले कजाकस्तान गणतन्त्रमा स्वामित्व हस्तान्तरण गर्ने लेनदेनका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको आर्सेलरमित्तल पुष्टि गर्दछ, यो लेनदेनलाई चाँडोभन्दा चाँडो अन्तिम रूप दिन कम्पनी प्रतिबद्ध छ ।”
     
    राष्ट्रपति तोकायेभले राष्ट्रिय शोकको घोषणा गर्नुभएपछि आइतबार राष्ट्रिय झन्डा आधा झुकाइएको थियो । सन् १९९१ मा सोभियत सङ्घको पतनपछि कजाकस्तानमा करिब दुई सय जनाको मृत्यु भएको छ । अधिकांश मृत्युका घटना आर्सेलरमित्तलका खानीमा भएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij