सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

इजराइलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/4950
    कात्तिक १३, २०८० सोमबार
    इजराइलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ
    मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । 
     
    ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा नौ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ । 
     
    हिंसाका कारण इजराइलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रुससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’ को निन्दा गरेको छ । 
     
    उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको सङ्केत दिएको छ । 
     
    स्वतन्त्र रुसी मिडिया आउटलेट सोताका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घन्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो । 
     
    दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । 
     
    “हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ”, मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, “अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।”
     
    रुसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो तर पछि मङ्गलबार पुनः खोल्ने जानकारी दिएको थियो । 
     
    आइतबार साँझ इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, “रुसी अधिकारीहरूले सबै इजराइली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दङ्गाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजराइलीहरू विरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजराइलको अपेक्षा छ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij