सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

दूतावास बन्द गर्नु ‘नियमित मामिला’ हो : उत्तर कोरिया


  • 892
    SHARES
  • https://indrenipost.com/index.php/posts/5033
    कात्तिक १७, २०८० शुक्रबार
    दूतावास बन्द गर्नु ‘नियमित मामिला’ हो : उत्तर कोरिया
    उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको बताएको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दावी गरेपछि उत्तर कोरियाको उक्त भनाइ आएको हो ।
     
    सरकारी सञ्चारमाध्यम र स्थानीय अधिकारीहरूका अनुसार गत साता प्योङयाङले अफ्रिकी सहयोगी अङ्गोला र युगान्डामा आफ्नो दूतावास बन्द गरेको छ । त्यस्तै हङकङ र स्पेनमा पनि कूटनीतिक नियोगहरू बन्द गरेको छ । 
     
    यसै साता आफ्ना दूतावास बन्द गर्ने उत्तर कोरियाको कदमले उसको गम्भीर आर्थिक अवस्थालाई चित्रण गरेको छ भन्दै सोलले उत्तर कोरियालाई आफ्ना परम्परागत सहयोगीहरूसँग न्यूनतम कूटनीतिक सम्बन्ध कायम राख्न पनि गार्हो भएको बताएको छ । 
     
    तर शुक्रबार प्योङयाङको विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको टिप्पणीमा मन्त्रालयका एक अनाम प्रवक्ताले ‘बाह्य सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्रवर्द्धन गर्नका लागि दूतावास बन्द गर्नु नियमित मामिलाको हिस्सा’ भएको बताएका छन् ।
     
    “अन्तर्राष्ट्रिय परिवेश र राज्यको विदेश नीतिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै हामी अन्य देशमा कूटनीतिक नियोग बन्द गर्न गइरहेका छौँ वा नयाँ खोल्न गइरहेका छौँ”, कुन कुन दूतावास बन्द गर्ने वा खोल्ने भन्नेबारे स्पष्ट नभएको भन्दै ती अधिकारीले भने, “हामीले पहिला पनि धेरै अवसरमा यस्तो कदम चालेका छौँ ।”
     
    दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार उत्तर कोरियाको एक सय ५० भन्दा बढी मुुलुकसँग कूटनीतिक सम्बन्ध छ तर आर्थिक अवरोधका कारण सन् १९९० को दशकदेखि विदेशमा उसको नियोगको सङ्ख्या घटिरहेको छ । 
     
    पछिल्लो पटक आणविक हतियार सम्पन्न उत्तर कोरियाले मुलुकमा अनिकाल लागेर लाखौँ मानिस मरेपछि सन् १९९० को दशकको मध्यदेखि अन्त्यसम्म उक्त स्तरमा कूटनीतिक नियोगको सङ्ख्या कम गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij