सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

गाजा युद्धविराम सम्झौता ‘नजिक’– हमास


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/5183
    मंसिर ५, २०८० मंगलबार
    गाजा युद्धविराम सम्झौता ‘नजिक’– हमास
    काठमाडौं । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । 
     
    ‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ,’ एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।
     
    गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजराइली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजराइली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ । 
     
    बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजराइलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ । 
     
    हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजराइली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका रहेका छन् ।
     
    नाम नछाप्ने शर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकू समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो । 
     
    अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजराइली हवाई सञ्चालनको सीमा समावेश छ ।
     
    बदलामा प्यालिस्टिनी लडाकू समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजराइली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij