काठमाडौं । युरोकप–२०२४ मा कुल २० देश छनोट भएका छन् ।
युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।
अब समूह ‘डी’बाट समूह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनोट हुनेछन् ।
युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनोट भएको छ भने युरोकपका लागि छनोट भएका अन्य देशमा समूह ‘ए’बाट स्पेन र स्कटल्याण्ड, समूह ‘बी’बाट फ्रान्स र नेदरल्याण्डस, समूह ‘सी’बाट इङल्याण्ड र इटाली छानिएका छन् ।
त्यस्तै समूह डीबाट टर्की छनोट भएको छ भने अब अन्तिम खेलपछि क्रोसिया र वेल्समध्ये एक देश सिधै छनोट हुनेछ ।
त्यसैगरी समूह ‘ई’बाट अल्बानिया र चेक रिपब्लिक छनोट भएका छन् भने समूह एफ बाटबेल्जियम र अस्ट्रिया छनोट भएका छन् ।
त्यसैगरी समूह ‘जी’बाट हंगेरी र सर्बिया, समूह ‘एच’बाट डेनमार्क र सर्बिया, समूह ‘आई’बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह ‘जे’बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् ।
आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनोट हुन असफल भएको छ । समुह ‘ए’मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो ।
सिधै छनोट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफसमेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।
अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्सरक्रोसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।