हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।
घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए ।
विज्ञप्तिमा भनिएको छ, हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौं हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ । उनीहरूको रगत मुजाहिदीनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ ।
गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पु¥याएको बताएका थिए ।
घाण्डोर दुई पटकसम्म इजरायली जेलमा कैँदी जीवन विताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए ।
सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो ।
सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतङ्कवादी’को सूचीमा राखिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले त्यतिबेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकू समूहको ‘शूरा काउन्सिल’मा रहेको बताएको थियो ।
सन् २००६ मा केरेम शालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए ।