शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

प्रतिपक्षी कांग्रेसले संसदमा कस्तो भूमिका निर्वाह गर्ला ? यसो भन्छन्- महामन्त्री विश्वप्रकाश शर्मा


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7127
    फागुन २३, २०८० बुधबार
    प्रतिपक्षी कांग्रेसले संसदमा कस्तो भूमिका निर्वाह गर्ला ? यसो भन्छन्- महामन्त्री विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । 

    बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति कांग्रेस प्रतिबद्ध रहेको तर त्यो कार्यादेशलाई बेवास्ता गर्दै प्रधानमन्त्री दाहालले अविश्वसनीयरुपमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेपछि त्यसप्रति असहमति जनाउँदै समर्थन फिर्ता लिएको उनले बताए ।

    संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति प्रदान गर्दै नागरिक पङ्क्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा गठबन्धन नियोजित ढङ्गले भत्काइएको निष्कर्ष बैठकले निकालेको महामन्त्री शर्माले जानकारी दिए । 

    प्रधानमन्त्री दाहालको यो कदमले अन्योल र अस्थिरतालाई बढावा दिएको कांग्रेसको ठम्म्याइ छ । बैठकले यो घटनालाई गम्भीर ढङ्गले लिँदै संसदमा प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने निर्णय गरेको छ ।

    बैठकले स्वदेश र विदेशमा रहेका कांग्रसका सदस्य, समर्थक र शुभचिन्तकहरुलाई बदलिएको परिस्थितिमा एकताबद्ध भएर देश र नेपाली नागरिकप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै सङ्गठनमा समर्पित हुन अपिल गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij