काठमाडौं । नयाँ सत्ता गठबन्धनका दललाई समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिमण्डल विस्तार गरे ।
सरकारमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएका छन्। यससँगै अहिले मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।
तर दुईवटा मन्त्रालय अझै प्रधानमन्त्रीसँग छ । स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् ।
ती मन्त्रालय नयाँ सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का लागि छुट्याइएको थियो ।
विभिन्न विषयमा असन्तुष्टि जनाउँदै जसपाले तत्काल मन्त्री नपठाएकाका कारण दुई मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् ।
यद्यपि जसपाले बिहीबार केन्द्रीय कार्यकारिणी बैठकमार्फत सरकारमा जाने/नजाने विषय टुंग्याउने बताएको छ ।
नयाँ सत्ता गठबन्धनमा जसपालाई भित्र्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र यादवसँग पटकपटक छलफल गर्दै आएका छन् ।