बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

ओकस सुरक्षा सम्झौता

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो किन ?


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/723
    असोज २, २०७८ शनिबार
    फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो किन ?

    अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ । फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ ।

    ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन् । फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति इम्यानुएल म्याक्रोँको आदेशमा राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

    अमेरिकाले भने राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयको निन्दा गरेको छ । मतभेद हटाउनका लागि फ्रान्ससँग वार्ता गर्ने राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले बताएका छन् । यस्तै अस्ट्रेलियाले भने फ्रान्ससँगको सम्बन्ध सुधारका लागि प्रयास गर्ने बताएको छ ।

    ओकस सम्झौतासँगै अस्ट्रेलियासँग भएको फ्रान्सको ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का धरापमा परेको छ । अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो ।

    तर ओकसअनुसार अस्ट्रेलियालाई सबमरिन बनाउन अमेरिका र बेलायतले सहयोग गर्ने छन् । चीनसँग सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका हुन् । विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेको जनाएका थिए । तर सो सम्झौता आफ्नो हितमा नरहेको देखेपछि फ्रान्स रुष्ट बनेको हो ।

    चीनको बढ्दो शक्ति तथा इन्डो–प्यासिफिक क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन् र सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो । तर त्यसले लामो समयदेखि सहकर्मी फ्रान्स भने चिढिएको छ । गएको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij