काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पनि छलफल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सभापति देउवाले केही दिनअघि लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गर्दै सहकार्यको प्रस्ताव राखेका थिए ।
सत्ता गठबन्धनमा सामेल नहुने निर्णय गरेको राप्रपासँग पनि छलफल गर्न कांग्रेस नेताहरूले सभापति देउवालाई आग्रह गरेका हुन् ।
राप्रपाले प्रदेशहरूमा तत्काल सरकारमा सहभागी नहुने बताए पनि सरकारलाई समर्थन गर्ने ढोका भने खुला राखेको थियो ।
यो पनि: सत्ता गठबन्धनमा सहभागी नहुनेसहित यी हुन् राप्रपाका १४ निर्णय कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई थप दलको सहयोग लिएर निरन्तरता दिन खोजेको छ ।
त्यसका लागि सातै प्रदेश सभापति र संसदीय दल नेताहरूसँग पार्टी पदाधिकारी र पूर्वपदाधिकारीले मंगलबार सभापति देउवा निवास बूढानिलकण्ठमा छलफल गरेका छन् ।
कांग्रेस नेतृत्वमा अहिले सदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी सरकार छ । सत्ता गठबन्धनमा नरहेका दलहरूसँग संवाद गरेर प्रदेश सरकारहरूलाई निरन्तरता दिनेबारे कांग्रेसले छलफल गरेको हो ।