शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

लगानी सम्मेलनमा नेपाल आउन विश्व बैंकका उपाध्यक्ष मार्टिनलाई अर्थमन्त्रीकाे निम्ता


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/7368
    चैत १०, २०८० शनिबार
    लगानी सम्मेलनमा नेपाल आउन विश्व बैंकका उपाध्यक्ष मार्टिनलाई अर्थमन्त्रीकाे निम्ता

    काठमाडौं । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन् ।

    विश्व बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग भएको भर्चुअल बैठकमा अर्थमन्त्री वर्षमान पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन् ।

    औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएका हुन् । जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै आफू लगानी सम्मेलनमा सहभागी हुने बताए ।

    उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत लगानी सम्मेलनमा आउन प्रोत्साहित गर्ने बचन दिए । ‘मलाई निमन्त्रणा गर्नुभएकोमा धन्यवाद दिन्छु र काठमाडौंमा भेट्ने बाचा गर्छु’, मन्त्री पुनसँग रेजरले भने ।

    उपाध्यक्ष रेजरले लगानी सम्मेलनका क्रममा नेपालका अधिकारीहरूसँग हुने औपचारिक र अनौपचारिक भेटमा नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए ।

    अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए ।

    सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्‍वास व्यक्त गरे । तेस्रो लगानी सम्मेलन आगामी ९-१० वैशाखमा हुँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij