चितवन, २० असारः पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका ब्यवसायीहरुले वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै नदेखिएको रवर्षालागे सँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको अनुभव सुनाएका छन।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षले अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताएका छन। शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ । यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका कुरा बताएका छन ।
पर्यटक नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् । चितवन फरेस्ट रिसोर्टका सञ्चालक दिपक भट्टराईले भने, “हाल २५ प्रतिशत कर्मचारी मात्र काममा छन् ।” वर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेका उनको अनुमान रहेको छ ।
विसं २०३३ देखि पर्यटन क्षेत्रमा लागेका गिरिधारी चौधरी आर्थिक मन्दीका कारण पर्यटक घटेका कुरा बताउछन । काठमाडौँ र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित उडान हुँदा पर्यटक घटेका उनको निश्कर्ष छ । सौराहा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागे हाललाई जिप सफारी बन्द गरेको छ ।
सौराहामा करिब १५० होटल छन् । ८ हजार बढी शय्या भएका यी होटलहरुमामा ६ हजार भन्दा बढीले रोजगारीको अवसर लिएका छन् ।