काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
छलफल बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको अधिकारीको भनाइ छ । घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन् ।
गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ ।