काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट रिटर्नी सेन्टर नेपालको उपाध्यक्षमा भीमबहादुर रोकाय ‘मुस्कान’ निर्वाचित भएका छन् । शुक्रबार चितवनमा आयोजित प्रथम महाधिवेशनबाट उपाध्यक्ष पदमा मुस्कान निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि सक्रिय उनी पूर्वजनमुक्ति सेना पनि हुन् । पूर्वगृह तथा वर्तमान उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीको सचिवालयमा समेत काम गरेका मुस्कान इन्द्रेणीपोष्ट डटकम अनलाइन संस्करण पत्रिकाका सहसम्पादक पनि हुन् ।
पछिल्लो समय उनी विभिन्न व्यवसायिक कार्यमा पनि संलग्न छन् ।
त्यस्तै अध्यक्ष देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन् । उनले ४७ र उनका निकटतम् प्रतिस्पर्धी मेजरकुमार राईले २९ मत प्राप्त गरेका थिए ।
अध्यक्ष सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा मुस्कानसहित कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन् ।
महासचिवमा घनश्याम भट्टराई तथा दुईजना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।
त्यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये ४ सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन ।
कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेस प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ ।