काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले आफ्नो कार्यकर्ता छुटाउन प्रहरीलाई दबाब दिएका छन् ।
पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत अन्य केन्द्रीयस्तरका नेताहरुले प्रहरीलाई दबाब दिएका हुन् ।
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको घटनामा पक्राउ परेका राप्रपाकै विद्यार्थी कार्यकर्ता निराजन बमलाई छुटाउन नेताहरुले प्रहरीलाई दबाब दिएका छन् ।
पार्टी कार्यालयमै श्रेष्ठमाथि कुटपिट भएको थियो । त्यसपछि श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा महाराजगञ्ज प्रहरीले कालीकोटको पलताका ३१ वर्षीय बमलाई बिहीबार पक्राउ गरेको थियो ।
बम पक्राउपछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरू प्रहरी वृत्त महाराजगञ्ज पुगेका थिए ।
उनीहरूले पार्टीको आन्तरिक विवाद भएको भन्दै बममाथि कारबाही नगर्न प्रहरीलाई सुझाएका थिए ।
राप्रपाले आन्तरिक रुपमा छानबिन गरी चार जना नेतामाथि कारबाही गरेको थियो ।