बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

काठमाडौंमै भेटियो डाँफे जोडी


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/7937
    बैशाख १९, २०८१ बुधबार
    काठमाडौंमै भेटियो डाँफे जोडी

    काठमाडौं । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो ।

    हामीलाई पनि यस्तै लागेको थियो । तपाईंले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो ।

    जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा ।

    समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् ।

    डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्बिर पहिलो पटक खिचेको हो ।

    सोही वडाका स्थानीय बासिन्दा जीत बहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाल लगायतका चराहरू पाइने सुनाए ।

    राजधानीबाट अत्यन्तै नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाल लगायतका चरा हेर्न पाइने भए पनि जानकारीको अभावले यहाँ चरा पारखी वर्ड फोटोग्राफरहरूको ध्यान पुग्न नसकेको बताए ।  

    जीत बहादुर चलचित्र विकास बोर्डका बोर्ड सदस्य पनि हुन् । यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउँदै छ ।

    यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ ।

    घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र सो नजिकको जङ्गलमा बस्न रुचाउँछ–डाँफे । लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भूभाग तथा लालीगुराँसको जङ्गलमा झर्दछ ।

    डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र वर्माको रैथाने चरा हो । नेपालमा यो चरा ३३०० मिटर देखि ४७५० मिटर सम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ ।

    हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू) मा यो चरा देखिने गरेको छ ।

    नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij