काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र विद्यार्थी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको हो ।
पूर्वउपराष्ट्रपति पुन र उमेरहद लागू भएपछि नेतृत्वको प्रत्यासीबाट बाहिरिएका विद्यार्थी नेताहरूलाई माओवादीमा व्यवस्थापन गर्न कठिनाइ भएको छ । पूर्वउपराष्ट्रपतिलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिने सम्बन्धमा लगभग सहमति भएको देखिन्छ ।
तर, ३२ वर्ष उमेरहद नाघेका विद्यार्थी नेताहरूलाई पार्टीको जिम्मेवारी दिनेबारे आन्तरिक छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । यसका लागि आउँदो आइतबार छलफल हुनुका साथै नेताहरूलाई पार्टीको जिम्मेवारी दिनेबारे निर्णय हुनेछ ।
आइतबारको बैठकमा गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयन गराउने र हिजो (बुधबार) बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको गरेको छ ।
केन्द्रीय कमिटी बैठकले ६ महिने ‘जनतासँग माओवादी अभियान’ चलाउने र त्यसपछि अर्को ६ महिना महाधिवेशन केन्द्रित अभियान चलाउने निर्णय गरेको छ ।