काठमाडौँ, ११ असार पतन्जली जग्गा हिनामिना प्रकरणमा मुद्धा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बिशेष अदालतले रु ३५ लाख धरौटी लिएर छाड्न आदेश गरेको छ ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले , “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको थियो।
आज पूर्वप्रधानमन्त्री नेपाल बिहान विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए।
पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।