अहिलेको युगलाई सूचना क्रान्तिको युगपनि भनिन्छ । सूचना डाटा मार्फत् प्रशारण गरिन्छ । खासमा अहिले पृथ्वीमा कति छ जम्मा डाटा ? त्यो डाटा कहाँ भण्डारण गरिन्छ ?
सन् २०१० मा पृथ्वी भरिका मानिसहरुसँग जम्मा दुई जेडाबाइट (जेडवि) डाटा थियो । हालसम्म १८१ जेडवि पुगेको मानिन्छ । मानव इतिहासमा सबैभन्दा छिटो भइरहेको छ डाटा वृद्धिको दर । २०१९ मा मात्र ४१ जेडवि भएको डाटा २०२० मा ६४ जेडवि पुगेको थियो । कोरोनाको कारणले भएको तिव्र उछाल ।
अब प्रश्न उठ्छ कि एक जेडाबाइट भनेको कति हो ? हाम्रो साधारण फोटो दश एमबिको मान्ने हो भने एक जेडाबाइटमा एक सय खर्ब फोटाहरु अटाउँछन् । तीनसय पेजका ३० अर्ब पुस्तकहरु अटाउँछन् । १८१ जेडवि फोटा हुनलाई पृथ्वीका आठ अर्ब मानिसहरुले प्रत्येकले २२ लाखफोटा खिच्नु पर्दछ । यदी यो डाटालाई पुस्तकमा रुपान्तरण गर्ने हो भने एउटा तीनसय पृष्ठको पुस्तक मान्दा अठार हजार एक सय खर्ब पुस्तक हुन्छ । यदी हामीले दैनिक एउटा पुस्तक पढ्दा पनि पचास करोड वर्ष लाग्छ ।
यी डाटाहरु अन्तर्गत संख्यात्मक, पाठ्य, चित्रात्मक, अडियो,भिडियो,सेन्सर र वेब डाटाहरु पर्दछन् । सजिलोको लागि दैनिक चार सय दुई अर्ब जिवि डाटा भण्डार हुन्छ । समग्र इन्टरनेटमा भएको डाटाहरु मध्ये आधाभन्दा बढी भिडियोहरु मात्रै छन् । अहिलेको जस्तै वृद्धि दर कायम रहने हो भने सन् २१०० सम्ममा १० योटाबाइट डाटा पुग्न सक्छ । त्यो भनेको १० लाख जेडाबाइट बराबर हो । यो भनेको यति ठूलो संख्या हुनेछ कि हरेका मानिसले अरबाँै फोटा, किताब र भिडियोहरु आफ्नै नाममा बनाउन सक्छ ।
अहिले पृथ्वीभरी ८ हजार भन्दा बढी डाटा केन्द्रहरु छन् त्यहाँ डाटा भण्डार हुन्छ । सबै डाटाको लगभग ६० प्रतिशत । तीस प्रतिशत जति क्लाउडमा र दशप्रतिशत जति मोबाइल, कम्प्युटर जस्ता उपकरणहरुमा भण्डार गरिन्छ । डाटालाई डिजिटल युगको नयाँ तेल भनिन्छ । यसले हाम्रो दैनिक र समग्र जीवनलाई निर्धारण गर्दैछ ।