काठमाडौं – नेपालमा मजदुरहरूको न्यूनतम मासिक तलब १९,५५० रुपैयाँ निर्धारण गरिएपछि अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफले गम्भीर आपत्ति जनाएको छ। महासंघका अध्यक्ष जगत सिंखडा ले यस निर्णयको घोर भर्त्सना गर्दै तत्काल न्यूनतम तलब ३०,४४३ रुपैयाँ निर्धारण गर्न माग गरेका छन । यदि यो माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि अन्टुफले दिएको छ।
अन्टुफले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई भ्रष्ट, दलाल, तस्कर र माफियाहरूले निर्माण गरेको आरोप लगाएको छ। उसले कथित रोजगारदाता र उनीहरूका मतियार ट्रेड युनियनहरूको सहमतिमा श्रमिकहरूलाई बाँच्न समेत नसक्ने गरी तलब निर्धारण गरिएको दाबी गरेको छ।
महासंघले स्मरण गराएको छ कि करिब एक महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ले नेपालमा कार्यरत मजदुरको न्यूनतम तलब ३०,००० रुपैयाँभन्दा कम हुनु नहुने भन्दै सार्वजनिक रूपमा भाषण गरेका थिए। तर, अहिले आएर उनीहरूको प्रतिबद्धता विपरीत न्यूनतम तलब तोकिएकोमा अन्टुफले आक्रोश व्यक्त गरेको छ।
अध्यक्ष सिंखडाले यदि ३०,४४३ रुपैयाँ न्यूनतम तलब निर्धारण नगरिएमा देशभर सशक्त आन्दोलन सुरु गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन। यो निर्णयले श्रमिकहरूको जीवनयापनमा थप कठिनाइ सिर्जना गर्ने र उनीहरूलाई थप आर्थिक भार पर्ने अन्टुफ को भनाइ रहेको छ।