बाग्लुङ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरुको सरुवा गरेको छ । नयाँ नियुक्ती पनि गरेको छ । उनीहरुको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लागत तथा रेकर्ड नराख्दा ती शिक्षक निवृत्त भएपछि पाउने सेवा सुविधामा समस्या पर्छ । अहिले पालिकाबाटै तलब भत्ता खाएकाले शिक्षकले केही थाहा पाएका छैनन्, तर जब ग्रेड, सरुवा भएको रेकर्ड र स्थायी फाइल खोज्नुपर्छ त्यतिबेला पालिकाम केही भेटिँदैन’ एकाइ प्रमुख कुश्मराज उपाध्यायले भने, देशभर नभएको जात्रा बागलुङमा भएको छ । बागलुङ नगरपालिकाले त सामान्य बोधार्थसमेत नदिएर शिक्षकको लागत गोप्य राखेको उनले बताए ।
जिल्ला समन्वय समितिमा भएको वार्षिक समीक्षामा उनले उक्त गुनासो राखेका थिए । जिल्लामा अहिले पनि कति शिक्षक दरबन्दी आवश्यक छ, कति जना कुन पालिकामा पठाउने भनेर खोजी भइरहेको उनले जानकारी दिए ।
हामीले खोजी गरेर शिक्षा मन्त्रालयमा माग गरिरहेका छौँ, तर पालिकाले नियुक्त गरेको भए कतै पनि रेकर्ड देखिँदैन, उनले भने, शिक्षा मन्त्रालयमा दरबन्दी विवरण पठाउने जिल्लाको एकमात्रै आधिकारिक संस्था एकाइ हो ।
नयाँ नियुक्त भएका र सरुवा भएका शिक्षकको फाइल भिडाउने, कागजात संरक्षण गर्ने काम नभएकोले पछि उनीहरुले दुःख पाउने उनले बताए । शिक्षा मन्त्रालयले एकाइलाई नै अधिकार दिएको उनको भनाइ छ । झट्ट हेर्दा शिक्षा विकास तथा समन्वय एकाइमा कामै छैन । त्यसैले धेरै दरबन्दी पनि कटौती भएका छन् ।
सबै पालिका तहमा शिक्षा शाखा स्थापना पनि भएको छ । त्यसैले एकाइको काम छैन भनेर टिप्पणी गर्ने धेरै छन् तर उक्त टिप्पणी जिल्लाकै लागि घातक हुने एकाइ प्रमुख उपाध्यायको टिप्पणी छ ।
उनका अनुसार जिल्लामा अहिले पनि ४५० बढी शिक्षक दरबन्दी चाहिएको छ । तीमध्ये एकाइमार्फत पछिल्लो दुई वर्ष १२८ शिक्षक दरबन्दी प्राप्त भएको छ ।
उनीहरुमध्ये धेरैलाई ढोरपाटन नगरपालिका, निसीखोला र बडिगाड गाउँपालिकामा पदस्थापन गरिएको उनले बताए । ती पालिकामा विद्यार्थी र विद्यालय सङ्ख्या धेरै र शिक्षक अनुपात कम थियो ।
सदरमुकामका विद्यालयमा भने शिक्षक दरबन्दी धेरै छ । दरबन्दी मिलान गर्दा पनि बजार क्षेत्रबाट केही शिक्षक अझै बाहिर जाने अवस्था आउने उनले बताए । केही दरबन्दी मिलान भए पनि अझै जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा दरबन्दी मिलान हुन नसकेको एकाइको प्रतिवेदनमा उल्लेख छ ।
असारदेखि भूकम्प पुनःनिर्माण प्राधिकरणअन्र्तगत रहेको शिक्षा हेर्ने एकाइ पनि यहाँ गाभिएको छ । कर्मचारी कटौती भएकाले शिक्षाकै दरबन्दीले हेर्नुपर्ने बाध्यता छ तर एकाइमा लेखा अधिकृतसमेत छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटिएका अधिकृतले लेखा हेर्दा पुरानो बेरुजु घटाउन समस्या भएको छ ।
यसअघि भौतिक पूर्वाधारका कार्यक्रम कम भए पनि चालु वर्ष पूर्वाधार निर्माण पनि एकाइमा थपिएको उपसचिव कृष्णराज रेग्मीले जानकारी दिनुभयो । ती क्रियाकलापसँगै एकाइले कक्षा ११ र १२ को परीक्षा पनि हेर्ने गरेको छ । परीक्षा हेरेर वार्षिक रु ५० लाख राजस्वसमेत सङ्कलन गरेको छ ।