काठमाडौं । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैँ व्यापारको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार भने सुस्त छ वा भनौं आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ ।
निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने र निजी जहाजले व्यापार गर्ने स्थिति देखिन्छ ।
यो अवस्था चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए । यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आलेले भनेका थिए, ुवायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरूरी छ ।ु
पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड रूपैयाँ खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटिआर जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए ।
पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दशैँ तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एयरलाइन्सको व्यापार बढेको छ । दशैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ । सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् ।
आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम भने निरीह बनेको छ । निगमसँग अहिले १८ सिट क्षमताका दुई थान जहाज मात्र छन् । ती पनि बेलाबेला बिग्रिरहन्छन् । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ । ती जहाज विमानस्थलमै थन्किएका छन् ।
निगमले काठमाडौं बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमकोट, बाजुरा, हुम्ला लगायत जिल्लामा उडान गर्ने गरेको छ ।
निगमको टिकटका लागि उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ । निगमका एक उच्च अधिकारीका अनुसार दशैँमा सर्वसाधरणले टिकट पाउँदैनन्, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन् ।
पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन । निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो । आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ । त्यसैअनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन,ु निगमका एक निर्देशकले भने ।
अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापतको भरमा निगमले आफ्नो जीविकोपार्जन गरिरहेको छ । निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो । झन्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन् । यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन् ।
अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा उपस्थिति मात्रै छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताए । उनले निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे ।
निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने१ त्यसैले तत्कालै जहाज थप्नुपर्छ, उनले भने ।
महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी आठ थान जहाज थप्नुपर्ने हुन्छ । त्यस्तै अन्तरराष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ ।
समस्याग्रस्त रहेको निगममा पछिल्लोपटक कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पार्यो ।
निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्ना लगायत कार्यक्रम गर्दै आएका थिए ।
निजी एयरलाइन्सको बिजनेस बढ्दो
निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । दशैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार बढ्दो छ । ठूला एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ । दशैँका लागि केही उडान संख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन् ।
शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरू पनि लालाहित छन् । आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैं बिजनेसका लागि साबिकको उडान संख्या बढाएर यात्रुको मागअनुरूप सेवा दिइरहेका छन् ।
बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ । दुई साना र १३ एटिआरसहित कुल १५ जहाजमार्फत् दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत् विभिन्न आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत् उडान सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ ।
आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन् ।