काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण बढेकाले विश्वविद्यालय र सो मातहतका क्याम्पसमा अनलाइन कक्षा हुने भएको हो ।
यसका लागि सोमबार (आज) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने छ ।
भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने त्रिविले जनाएको छ ।
अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।
अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालयमा पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।