आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरीले सैन्यवृत्तमा हलचल, के छ उजुरीमा ?


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3069
    माघ ६, २०७८ बिहीबार
    प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरीले सैन्यवृत्तमा हलचल, के छ उजुरीमा ?

    काठमाडौं । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । 

    ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।

    उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । 

    बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । 

    देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ । 

    के छ उजुरीमा ?

    उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् ।

    उनले पदावधिजस्तो वृत्ति विकासमा मनोमानी, स्वेच्छाचारी ढंगले गरिने सबै निर्णय गैरकानुनी भएको पनि दाबी गरेका छन् ।

    ‘मेरो पदावधि थप नगरेको सिफारिसपत्र मेरो २०७७ सालको कार्यसम्पादन मूल्यांकनविपरीत छ,’ उनले उजुरीमा भनेका छन्, ‘कार्यसम्पादन मूल्यांकन उजुरीसँगै समावेश गरेको छु ।’

    कार्कीले आफू आफ्नो असक्षमता वा यी सबै प्रकरण’bout खोजेर दोष देखाइदिन चुनौती पनि दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij