काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । रौतहट, बारा, इलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ग्यास बुलेटमा च्यापिएर एक जनाले ज्यान गुमाएका छन् ।
रौतहट, गरुडा नगरपालिका-४ गरुडा गाउँस्थित सडकमा ना.६२ प ३३९९ नम्बरको मटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि झाझपुलस्थित ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
इलाम, रोङ गाउँपालिका-४ पहिरोस्थित सडकमा प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार झापा मेचिनगर नगरपालिका-४ बस्ने ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्य बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गाडीका चालकलाई उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।
बारा, बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना ८ प ८८ ६३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको हो ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-१ फुङसिङस्थित सडकमा प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक ईलाम माङसेबुङ गाउँपालिका-३ बस्ने २१ वर्षीय रविन लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।
पाल्पा, तानसेन नगरपालिका-६ वर्तुङचोकस्थित सडकमा लु.३ त ४६१५ नम्बरको ट्याङ्करमा लु.४४ प १६१९ नम्बरको स्कुटर ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार माथागढी गाउँपालिका-३ सराय बस्ने ५५ वर्षीया कान्तीसरा गाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-३ माईली बजारस्थित सडकमा लु.२ स ००८१ नम्बरको अटो रिक्सा र से.१ प ७६४४ नम्बरको मटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार र मोटरसाइकल चालक समेत गरी ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा, मेचीनगर नगरपालिका-७ स्थित सडकमा मे.१ झ १७२ नम्बरको गाडीले मे.९ प ७९२७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, धुनिबेशी नगरपालिका-६ चालिसेस्थित सडकमा ग.१ ख ४३३८ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री उदयपुर वेलका नगरपालिका बस्ने ४२ वर्षीय दुर्गा घिमिरेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रभित्र दुई वटा ग्यास बोक्ने बुलेटकोबीचमा च्यापिएर एनएल ०२ क्यू ३७२९ नम्बर बुलेटका चालक भारत कोलकत्ता घर भएका ४५ वर्षीय दिलिप राजवंशीको बिहीबार बिहान मृत्यु भएको छ ।
औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२ क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
एनएल ०२ क्यू ३७२० नम्बरको गाडी चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।