शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सिलाैटाे बनाउँदैमा उमेर गयाे, दृष्टि धमिलियाे

  • 41.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/364
    असोज २९, २०७७ बिहीबार
    सिलाैटाे बनाउँदैमा उमेर गयाे, दृष्टि धमिलियाे

    राज सरगम

    काठमाडौंको चावहिल चोकबाट गोपीकृष्णतिर जाँदा ५० मिटर पर बायाँतिर सिलौटाका पसल छन् । ती पसलछेउ छिनोले ढुंगा खोपिरहेकी राधिका कुसवाडिया आउनेजानेतिर हेरेर सोध्छिन्, ‘सिलौटो लिने हो सर ?’

    ३० वर्षअघि चावहिल–गोपीकृष्ण जानेआउने सडक रित्तो थियो । बाटो गोरेटो थियो । गाडी आउजाउ कम हुन्थ्यो । ‘३० वर्षदेखि यसकै साक्षी हुँ’, राधिका भन्छिन्, ‘यहाँ ढुंगा खोपेर सिलौटो बनाउँदैमा उमेर गयो ।’

    दायाँतिरको ढुंगेधारा उस्तै छ । त्यही धारामा भिजेर छेउछाउका झाडीमा लुकामारी खेल्थिन् । पातलो गुड्ने गाडी छलेर पारिको ढुंगा पसल पुग्थिन् । हिजोआज उनी सडक वारपार गर्न डराउँछिन् । भन्छिन्, ‘धेरै गाडी भए, बाटो काट्नै सकिन्न ।’

    झाडी मासिए । गगनचुम्बी घर बने । बाटो बन्यो । कालोपत्रे भयो । तर, न उनको जीवन फेरियो न त ढुंगा नै । निरन्तर सडकछेउ ढुंगा खोपिरहेकी भेटिन्छन् उनी– ठक, ठक, ठक ।

    चाबहिल रिङरोडमा सिलौटो बनाउँदा–बनाउँदै बूढी भइन् उनी । आँखाको दृष्टि पनि धमिलियो । तर, ५५ वर्षीया राधिका सिलौटो बेचेर छाक पुर्याइरहेकी छन् ।

    हातमा झुम्रो बाँधिएको छ । हातलाई हम्मरले किचेको रहेछ । ढुंगा खोप्ने छिनोले कहिलेकाहीं हातलाई पनि चोइट्याउँछ । तर, उनको सिलौटो खोप्ने क्रम कत्ति भंग हुँदैन । भन्छिन्, ‘छिनोले हात चोइटाउने बानी पर्यो ।’

    उनले पढ्न सकिनन् । बाउबाजेको पेसा अँगालिन् । बचपन ढुंगा खेलेर गयो । बूढेसकाल ढुंगा खोपेर जाँदै छ । ‘पुख्र्यौली काम हो गर्नै पर्यो’, उनी भन्छिन् ।
    ०००
    भुइँका सिलौटा सजाएर राखिएका छन् । उनी एउटा ढुंगालाई छिनोले ठुँगिरहेकी छन् । सडकको धुलो र ढुंगाको धुलोको परवाह छैन । उनी बाँचेको परिवेश फेरियो तर फेरिएको छैन उनको जीवन पद्धति । सिलौटोकै सहारामा दुई छोरालाई पढाएकी छन् । मासिक ८ हजार भाडा तिरेकी छन् । भन्छिन्, ‘जीवनको गुजारा चलिरहेको छ ।’

    बुटवल देवीनगर स्थायी घर भएकी राधिकाले पहिला आफैं खानीबाट ढुंगा ल्याउँथिन् । त्यर, त्यस ठाउँमा ढुंगा काट्न दिन छाड्यो । उनले १० वर्षदेखि ठेकेदारसँग ढुंगा किन्ने गर्छिन् । २ देखि ४ सय रुपैयाँसम्ममा किनेर सिलौटो, ओखल बनाउँछिन् । नमिलेको ढुंगालाई छिनोको धारले काटेर आकर्षक बनाउँछिन् । कोइलाले पोत्छिन् । बुट्टा भर्छिन् । बेच्नका लागि राख्छिन् ।

    ‘यत्तिका मेहनत गरिन्छ । तर, कसैले राम्रो दाम दिन मान्दैनन्’, सिलौटो देखाउँदै उनी भन्छिन् ।

    उनी मासिक २० हजारदेखि २५ हजारसम्म कमाउँछिन् । त्यही पैसाले घरभाडा, दुई बच्चाको पढाइ खर्च पुर्याउँछिन् । घरायसी सरसामान र लत्ताकपडा जोरजाम गर्छिन् । ‘ढुंगा उचाल्न पहिलेजस्तो तागत छैन’, सानो सिलौटो उचाल्दा स्याँस्याँ हुँदै उनी भन्छिन् ।
    ०००
    छोरोले पढेर जागिर खाओस् भन्ने छ । भन्छिन्, ‘भरोसा यिनै छोराहरूको छ । ढुंगाको भरोसा मसला पिस्ने मेसिनले खोसिदियो ।’

    धेरै उपभोगका सामान मेसिन हुन थाले । ती सहज र छिटो हुन्छन् । त्यस्ता मेसिनले पुख्र्योली पेसालाई विस्थापन गर्दै छ । रोजीरोटी खोसिने सम्भावना पनि उस्तै छ । ‘मेसिनले त पेसा खोस्यो खोस्यो, घरीघरी ट्राफिक पुलिस आएर खेदाउँछन् ।’ जाम हटाउन आएको ट्राफिकले बजाएको सिटीतिर उनको ध्यान जान्छ । उनी चनाखो हुँदै हतारहतार सिलौटा लुकाउन थाल्छिन् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij