आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

श्रीमतीको विभत्स ढंगले हत्या गर्ने पूर्वडीआईजी रञ्जन कोइराला फरार


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4426
    जेठ १३, २०७९ शुक्रबार
    श्रीमतीको विभत्स ढंगले हत्या गर्ने पूर्वडीआईजी रञ्जन कोइराला फरार

    काठमाडौं । सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डीआईजी रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको हो ।

    अघिल्लो फैसला उल्टिने गरी बिहीबार भएको फैसलाको केही अघिसम्म कोइराला सर्वोच्च अदालतमै थिए । सर्वोच्चबाट बाहिरिएपछि मोबाइल फोन स्वीच अफ गरेर सम्पर्कविहीन बनेका हुन् । ‘उहाँ बिहीबार दिउँसो सर्वोच्च अदालतमै पुग्नुभएको थियो, फैसला आउँदा भने बाहिरिसक्नुभएको थियो ।

    त्यस बेला मेरो उहाँसँग छोटो कुराकानी हुँदा अब के गर्ने भन्नुभएको थियो,’ गीता ढकालको हत्या अभियोगमा रञ्जनसँगै मुद्दा खेपेकी तारा रेग्मीले बिहीबार राति भनिन्, ‘बानेश्वर घर जान्छु भनेर हिँड्नुभएको हो, त्यसपछि मोबाइल अफ छ, कुराकानी हुन पाएको छैन ।’

    रेग्मी, कोइराला र उनका छोरा ललितपुरको सानेपास्थित सनराइज अपार्टमेन्टमा बस्दै आएका थिए । कोइरालाको बूढानीलकण्ठ, इचंगुनारायण र बानेश्वरमा घर छ । उनको पुर्ख्यौली घर पोखरा हो ।

    पछिल्लोपटक २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट मुक्त भएपछि भने उनी कहिले सानेपा, कहिले बानेश्वर र इचंगुनारायणलगायत स्थानमा बस्ने गरेको स्रोत बताउँछ ।

    कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका छन् ।

    उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij