सुन तस्करीको अनुसन्धान गरेर बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीको उद्गमस्थल ‘हङकङ’नै भएको ठहर गरेको छ ।
सिआइबीले अनुसन्धानका क्रममा एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । त्यस क्रममा त्यहाँ चिनियाँ अधिकारीहरूसँगको सहकार्यमा उनले तस्करी भएको सुनको उद्गमस्थल हङकङ नै भएको पुष्टि गराएका थिए ।
उनले त्यहाँबाट पहिचान गरेका मुख्य व्यक्तिहरू चिनियाँ नागरिक ली र लिन हुन् । ली र लिनले नेतृत्व गरेको पाँच जनाको समूहले नै नेपालमा सुन तस्करी गराएको थियो । उनीहरूले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउने गरेको र पछिल्लो समय ब्रेक सुमा पठाउने गरेको खुलेको छ ।
क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाइएको सामानमार्फत नेपालमा सुन आएको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताएका थिए ।
तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादी केन्द्रका केही नेता–कार्यकर्तासँग सम्पर्क भए पनि उनीहरूलाई छाडिएको छ । राहुल महरालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।