सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संस्कार-संस्कृति

मुस्लिम समुदायका अगुवाहरूले मनाए दशैं


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/4834
    कात्तिक ८, २०८० बुधबार
    मुस्लिम समुदायका अगुवाहरूले मनाए दशैं

    बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादशैंंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका छन् । 

    मङ्गलबार हिन्दूहरूको महानपर्व बडादशैंका अवसरमा मुस्लिम अगुवाहरूले दशैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका हुन् । 

    बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दशैंको टीका र जमरा लगाएका छन् ।  

    उनले दशैं, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको बताए । “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरूको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उनीहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?”

    मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए । 

    बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षांैदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ । 

    सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दशैंमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन् । 

    उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिएका छन् । सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आएका छन् । 

    पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए । 

    अर्को मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दशैंमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन् । रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए ।

    बडादशैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दशैंको शुभकामना दिएका छन् । 

    एकताका र सद्भावका लागि दुवै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन् । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij