रोमानियामा नेपाली कामदारलाई कठिन श्रममा लगाउने, आरामको लागि समय नदिने र उल्टै यातना दिएर कामबाट निकाल्ने प्रवृत्ति बढ्दै गएको छ ।
हालै मात्र रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको छ ।
ताप्लेजुङ घर भएका ती श्रमिकले आफूलाई साहुले काठका भाटाले पेट, पिँठ्यु र टाउकोमा निर्मम तरिकाले पिटेको बताएका छन् ।
गत आइतबार ज्यान जोगाउँदै भागेका उनलाई उक्त कम्पनीका सञ्चालकले मार्ने धम्की दिई गाडीले पछ्याएका थिए ।
ती पीडितले एम्बुलेन्सको सहयोगमा अस्पताल गएको र रातभरिको उपचारपछि प्रहरीमा उजुरी गर्न पुगेको बताएका छन् । तर, प्रहरीले आफ्नो न्यायका लागि केही गर्न नसक्ने बताएपछि निराश भएको उनको भनाइ छ ।