काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी हो ।
कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।
उनका अनुसार चालु आवको सबैभन्दा धेरै घरबहाल कर रू ८१ करोड ९२ लाख र सम्पत्ति कर रू ४१ करोड ८६ लाख असुल भएको छ ।
कामपाले चालु आवका लागि रू १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ ।
गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्, उनले भने, पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् ।