काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
जिल्लाको नगरपालिका-१ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।
टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।
डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् ।
प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए ।
छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो ।
त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।