नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् ।
आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताए ।
नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए ।
किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ ।
यसको गहिराइमा हामी पुग्छौँ, हाम्रो कानुनी व्यवस्था जे छ, कानुनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ, अर्थमन्त्रीले भने । किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानुनी व्यवस्था अनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए ।