काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज)को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले जुम बैठकमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रतिबद्धता जनाउने सहरहरुमा काठमाडौं महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इण्डोनेसियाको जाकार्ता, बंगलादेशको ढाका, रवंदाको किगाली र उगान्डाको काम्पला छन् ।
प्रमुखहरुले बुधबार साँझ सार्वजनिक एक संयुक्त प्रतिवद्धता भनेका छन्, ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् ।
कोप-२८ मा विश्व नेताहरू भेला भइरहँदा हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू गर्न र आफ्ना नागरिकको जीवनस्तर सुधार गर्न तथ्यांकमा आधारित सार्वजनिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्न आह्वान गर्दछौं ।’