मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ ।
मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।
बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।
तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।
प्रजिअ लामिछानेले भने, चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ ।
सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।
चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।
चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।
पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ ।
योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।