आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

दैवी प्रकोप

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/5711
    पुष ९, २०८० सोमबार
    भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

    काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ ।

    विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ ।

    यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन् ।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । 

    सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो ।

    बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।

    प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । 

    लाभग्राहीको सङ्ख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ ।

    अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि रु दुई अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ ।

    अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा चार अर्ब ७५ करोड आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

    जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्‍याएको थियो ।

    अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij