सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौं पुर्याइने बताए ।
आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौं पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे ।
उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताए ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिए ।
उनले अम्बाथानमा काम भइरहेको बताए । दैनिक १६÷१७ घण्टा काम भइरहेको छ, उनले भने ।
दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ ।
क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आयोजनाले जनाएको छ ।
मन्त्री यादवसँगै प्रदेशसभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका सदस्य विष्णुमणि आचार्यलगायतले आयोजनाको मुहानस्थलबारे जानकारी लिएका थिए ।